Type Here to Get Search Results !

जीतपुर–सिमरा वडा नं. ६ मा नयाँ सुविधा सम्पन्न कार्यालय भवन उद्घाटन


राहुल सिंह/जीतपुर : बाराको जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. ६ मा नवनिर्मित सुविधा सम्पन्न वडा कार्यालय भवन उद्घाटन गरिएको छ। आफ्नै भवनबाट सेवा दिन थालेसँगै अब स्थानीयवासीले थप सहज र व्यवस्थित सेवा पाउने अपेक्षा गरिएको छ।
जीतपुर–सिमरा वडा नं. ६ मा नयाँ सुविधा सम्पन्न कार्यालय भवन उद्घाटन

करिब ६० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनको उद्घाटन प्रदेश सभा सदस्य देवनारायण चौधरी र नगर प्रमुख राजन पौडेलले संयुक्त रूपमा गरेका हुन्। वडा अध्यक्ष कैमुदिन अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा कार्यालय अब आफ्नै भवनमा सरेको हो। नयाँ भवनमा पाँच वटा कोठा, एक भान्सा कोठा र महिला–पुरुषका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ, जसले सेवाग्राहीलाई थप सहजता दिने विश्वास गरिएको छ।

भवन निर्माणका लागि आवश्यक एक कठ्ठा ५ धुर जग्गा वीरगञ्ज महानगरपालिका–१४, बहुवरी पर्साका बदरुल होदा अंसारी र समिम रेयाज अंसारीले उपलब्ध गराएका थिए। उनीहरूको योगदानको कदर गर्दै कार्यक्रममा दोसल्ला ओढाएर सम्मान तथा कदरपत्र प्रदान गरिएको वडा अध्यक्ष अंसारीले जानकारी दिए।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत डमरु निरौलाको समेत विशेष उपस्थिति रहेको थियो। करिब एक वर्षको अवधिमा निर्माण सम्पन्न भएको यो भवन अब वडा कार्यालयको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.