वीरगन्ज : पर्सा प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।
भारत बिहार घर भएका ३० वर्षीय विकास शर्मा आइतबार वीरगन्ज महानगरपालिका–२४ रामगढवा क्षेत्रबाट पक्राउ परेका हुन्। अदालतले उनलाई अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय सुनाएको थियो।
प्रहरीका अनुसार शर्मा २०८२ साल भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनको समयमा उत्पन्न अन्योलपूर्ण अवस्थाको फाइदा उठाउँदै केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बहादुर बस्नेतका अनुसार उनलाई पक्राउ गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गर्ने तयारी भइरहेको छ।
प्रहरीले फरार अपराधीहरूको खोजी अभियानलाई थप सशक्त र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाएको छ।
