Type Here to Get Search Results !

कार्यालय प्रमुख बेपत्ता हुँदा बाराका विकास योजना अलपत्र — ४ महिनादेखि सम्पर्कविहीन



राहुल सिंह/बारा : बाराको कलैयामा रहेको पूर्वाधार विकास कार्यालय यतिबेला प्रमुखविहीन जस्तै बनेको छ। कार्यालय प्रमुख राजेन्द्र साह पछिल्लो चार महिनादेखि सम्पर्कमा नआएपछि यहाँका आर्थिक र प्रशासनिक कामकाज ठप्पजस्तै भएका छन्। दैनिक सेवा लिन आउने सेवाग्राहीदेखि योजना कुरेर बसेका स्थानीयसम्म सबै अन्योलमा छन्।
कार्यालय प्रमुख बेपत्ता
साहलाई संघीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा सरुवा गरिएको भए पनि उनले औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण (रमाना पत्र) नगरीकनै सम्पर्कविहीन भएको कार्यालयका कर्मचारीहरू बताउँछन्। अझ चासोको विषय त के छ भने, उनले आफ्नो अनुपस्थितिबारे न त कार्यालयलाई जानकारी गराएका छन्, न त मन्त्रालय वा स्थानीय प्रशासनलाई नै।

कार्यालयकी सूचना अधिकारी आरती चौधरी भन्छिन्, “उहाँ कहाँ हुनुहुन्छ, किन जानुभयो भन्ने कुनै जानकारी हामीसँग छैन। उहाँको मोबाइल पनि लामो समयदेखि बन्द छ।” यसले कर्मचारीहरूलाई मात्र होइन, सेवा लिन आउने सर्वसाधारणलाई समेत अन्योलमा पारेको छ।

प्रमुखकै अनुपस्थितिले ठूला-ठूला विकास योजना प्रभावित भएका छन्। चालु आर्थिक वर्षमा सञ्चालन हुनुपर्ने एक अर्ब ३८ करोडभन्दा बढी रकमका ३७८ वटा योजना अहिले अलपत्र छन्। यी योजना बाराका १६ पालिकामा फैलिएका छन्, जसमा साना बजेटदेखि ठूला पूर्वाधारसम्मका काम समेटिएका छन्।

वैशाखको दोस्रो साता बितिसक्दा पनि कुनै योजना अघि बढ्ने संकेत देखिएको छैन। उपभोक्ता समिति गठन हुन सकेको छैन भने टेन्डर आह्वानसमेत हुन सकेको छैन। यसले गर्दा चालु वर्षभित्र धेरै योजना कार्यान्वयन नहुने खतरा बढेको छ।

इन्जिनियर चौधरीका अनुसार ५० लाखभन्दा माथिका ३२ वटा बहुवर्षीय योजनामा भुक्तानीमा समस्या भए पनि काम पूर्ण रूपमा भने रोकिएको छैन। तर, समग्र रूपमा विकास निर्माणको गति निकै सुस्त भएको उनी स्वीकार्छिन्।

उल्लेखनीय छ, साह यसअघि पनि विवादमा तानिएका थिए। गत वर्ष मदन भण्डारी आवास निर्माण तथा निधि निवास कार्यक्रमअन्तर्गत १४ करोड रुपैयाँ हिनामिनाको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। पछि अदालतबाट सफाइ पाएपछि उनी पुनः सोही कार्यालयमा फर्किएका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.