Type Here to Get Search Results !

जीतपुर सिमरामा लागुऔषध, साइबर अपराध र आत्महत्या न्यूनीकरणका लागि २ दिने कार्यक्रम सम्पन्न

राहुल सिंह/ बारा : समाजमा बढ्दो लागुऔषध दुव्र्यसन, साइबर अपराध र मानसिक तनावका घटनालाई मध्यनजर गर्दै जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. ९ र १९ मा दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। समुदायलाई सचेत बनाउने उद्देश्यले आयोजित यो कार्यक्रमले स्थानीय तहमा सकारात्मक सन्देश फैलाएको सहभागीहरूले बताएका छन्।

जीतपुर सिमरामा लागुऔषध, साइबर अपराध र आत्महत्या न्यूनीकरणका

जीतपुर–सिमरा उपमहानगरपालिकाको आयोजना, लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्य तथा इलाका प्रहरी कार्यालय सिमरा र यश नेपालको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा समाजमा देखिँदै गएका समस्याहरू—विशेषगरी लागुऔषधको प्रयोग, अनलाइन ठगी, साइबर दुव्र्यवहार र मानसिक दबाब—बारे खुला छलफल गरिएको थियो।

लुमन्तीका सामाजिक परिचालक रबि तिवारीका अनुसार पछिल्लो समय यस्ता घटनामा वृद्धि भइरहेकाले समुदायस्तरमै सचेतना फैलाउन कार्यक्रम आवश्यक देखिएको हो। “समस्या बढ्दै गएको अवस्थामा समयमै जानकारी र सचेतना दिन सकियो भने धेरै जोखिम कम गर्न सकिन्छ,” उनले बताए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमरा तथा मातहतका प्रहरी प्रतिनिधिहरूले लागुऔषधको असर, त्यससँग सम्बन्धित कानुनी प्रावधान, विशेषगरी किशोर–किशोरीमा पर्ने प्रभाव र बच्ने उपायबारे प्रष्ट पारे। साथै सामाजिक सञ्जालमार्फत हुने ठगी, फेक आईडी, अनलाइन ब्ल्याकमेल र बैंकिङ फ्रडजस्ता साइबर अपराधका जोखिमबारे पनि विस्तृत जानकारी दिइयो।
जीतपुर सिमरामा लागुऔषध, साइबर अपराध र आत्महत्या न्यूनीकरणका


यश नेपालका प्रतिनिधिहरूले भने मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणमा केन्द्रित सहजीकरण गरेका थिए। उनीहरूले तनाव व्यवस्थापन, पारिवारिक संवादको महत्व र समस्या लुकाएर बस्नुको सट्टा खुलेर कुरा गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, महिला समूह, युवा क्लब तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विशेषगरी युवापुस्तालाई गलत बाटोबाट जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय तहले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.