Type Here to Get Search Results !

अवैध कपडा आयात प्रकरण तीन जनाविरुद्ध अदालतमा मुद्दा, करोडौँ बिगो दाबी

जीतपुर : रेडिमेड कपडाको अवैध आयातमार्फत राजस्व छलिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धान पूरा भएपछि उक्त मुद्दा बारा जिल्ला अदालतमा पेश गरिएको हो।
अवैध कपडा आयात प्रकरण तीन जनाविरुद्ध अदालतमा मुद्दा, करोडौँ बिगो दाबी

प्रकरणका मुख्य अभियुक्त पर्साको वीरगञ्ज महानगरपालिका–२४ निवासी ५६ वर्षीय दिलिप साह रहेका छन्। उनीमाथि भन्सार महसुल नतिरी कपडा भित्र्याएर राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याएको आरोप लगाइएको छ। कार्यालयका अनुसार साहबाट २ करोड ३६ लाख ८५ हजार ८५१ रुपैयाँ बराबरको बिगो कायम गरिएको छ। सोही आधारमा बिगो जफत, शतप्रतिशत जरिवाना तथा कैद सजायको माग गरिएको छ।

यसै प्रकरणमा रौतहटको फतुवा विजयपुर–११ का २८ वर्षीय राजु प्रसाद खान र बारा करैयामाई–५ का २५ वर्षीय सन्तोष चौधरीलाई पनि प्रतिवादी बनाइएको छ। अनुसन्धानबाट उनीहरूले भि.सि.टि.एस. प्रणालीको दुरुपयोग गर्दै अवैध सामान ओसारपसारमा सहयोग गरेको देखिएको जनाइएको छ। उनीहरूलाई मद्दतकर्ता (मतियार) को रूपमा मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ।

कार्यालयले अपराध पीडित संरक्षण ऐनअनुसार क्षतिपूर्ति असुल गर्नसमेत मागदाबी गरेको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अन्तर्गत दर्ता गरिएको उक्त मुद्दा चैत ३० गते अदालतमा पेश गरिएको जनाएको छ।

यस घटनाले सीमावर्ती क्षेत्रमा हुने अवैध आयात तथा राजस्व चुहावट नियन्त्रणमा कडाइ आवश्यक रहेको संकेत गरेको सरोकारवालाहरूको भनाइ छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.