जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा पारदर्शिता, उत्तरदायित्व र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला पक्षहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र चौधरीसहित समितिका सम्पूर्ण सदस्यहरू, शिक्षक, अभिभावक, शिक्षा प्रेमी तथा युवा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमले गर्नुभएको थियो। छलफलमा शिक्षक कालिका प्रसाद ढकाल, समाजसेवी डमरु कामी र व्यवस्थापन समितिका राजेन्द्र प्रसाद चौधरीले विद्यालयको शैक्षिक, आर्थिक तथा प्रशासनिक अवस्थाबारे आ–आफ्ना धारणा प्रस्तुत गरे।
वक्ताहरूले विद्यालयको गुणस्तर सुधार, आर्थिक व्यवस्थापनमा पारदर्शिता, अनुशासन कायम राख्ने र विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विषयमा विशेष जोड दिएका थिए। छलफलका क्रममा विद्यालयको आय–व्यय, शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास तथा शिक्षक व्यवस्थापन लगायतका विषयमा विस्तृत समीक्षा गरिएको थियो।
सहभागीहरूले विद्यालयलाई अझ प्रभावकारी र नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको निष्कर्ष निकालेका थिए।
विद्यालयले जनाएको अनुसार उक्त कार्यक्रममार्फत आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण औपचारिक रूपमा सम्पन्न गरिएको हो।
