Type Here to Get Search Results !

पर्यटकीय गन्तव्य बन्दै सिमरा पार्क नयाँ वर्षमा थामिनसक्नु भीड

बारा : नेपाली नयाँ वर्ष २०८३ को अवसरमा बाराको सिमरा स्थित थानीमाई सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित सिमरा पार्कमा दर्शकहरूको अत्यधिक भीड लागेको छ। नयाँ वर्षको पहिलो दिनमै जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित उक्त पार्क अवलोकन गर्न आउनेहरूको संख्या ह्वात्तै बढेको हो।
पर्यटकीय गन्तव्य बन्दै सिमरा पार्क नयाँ वर्षमा थामिनसक्नु भीड

थानीमाई सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष श्याम सुबेदीका अनुसार हालसम्म करिब एक लाख दर्शकले टिकट काटेर पार्कको अवलोकन गरिसकेका छन्। उनले टिकट गणना प्रक्रिया अझै जारी रहेकोले यकिन संख्या अझै स्पष्ट भइनसकेको जानकारी दिए।

पार्क परिसरमा सवारी साधनको चाप पनि अत्यधिक देखिएको छ। कोषाध्यक्ष सुबेदीका अनुसार करिब ७ सय मोटरसाइकल र ५६ वटा साना गाडी पार्किङ गरिएको छ, जसले पार्कमा आएको भीडको ठूलो आकारलाई पुष्टि गर्छ।

नयाँ वर्षको बिदा मनाउन उद्योग–कलकारखानामा कार्यरत कर्मचारी, मजदुर तथा परिवारसहित सर्वसाधारणहरू पिकनिक मनाउन र रमाइलो गर्न पार्क पुगेका थिए। बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। पार्कभित्र पारिवारिक जमघट, मनोरञ्जनात्मक गतिविधि र फोटो खिच्ने क्रमले वातावरण उत्साहपूर्ण बनेको थियो।
पर्यटकीय गन्तव्य बन्दै सिमरा पार्क नयाँ वर्षमा थामिनसक्नु भीड

पार्कको मुख्य आकर्षणमध्ये एक रुखको सहायताले निर्माण गरिएको भ्यु मचान बनेको थियो, जहाँ युवायुवतीदेखि वृद्धवृद्धासम्मले उचाइबाट दृश्य अवलोकन गर्दै आनन्द लिएका थिए। साथै, हात्ती, गैँडा, कङ्गारु लगायतका जनावरका प्रतिमाले बालबालिकालाई विशेष आकर्षित गरेको थियो। पिङ, स्लाइड र अन्य खेल सामग्रीमा बालबालिकाको रमाइलो देखिएको थियो।

यस वर्ष पार्कभित्र स–साना खानेकुरा बिक्री गर्ने स्टल तथा बालबालिकाका मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने व्यवसायीहरूबाट निश्चित शुल्क लिएर सेवा सञ्चालनको व्यवस्था गरिएको थियो।

तर, टिकट दर सम्बन्धी विषयमा केही गुनासो पनि उठेका छन्। आधिकारिक रूपमा टिकट शुल्क १० रुपैयाँ तोकिए पनि काउन्टरमा २० रुपैयाँसम्म असुल गरिएको पाइएको भन्दै सर्वसाधारणले पारदर्शिताको माग गरेका छन्।

बढ्दो भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी परिचालन, पार्किङ व्यवस्थापन र सेवा सुविधामा थप सुधार आवश्यक रहेको स्थानीयवासी तथा आगन्तुकहरूको सुझाव छ।

सिमरा पार्क नयाँ वर्षको अवसरमा यस क्षेत्रकै प्रमुख आकर्षणको केन्द्र बनेको छ, जसले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याएको स्थानीयहरूले बताएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.