सिमरा : सिमरा–काठमाडौं हवाई मार्गमा पछिल्ला दिनमा यात्रुको चाप उल्लेखनीय रूपमा घटेको छ। हवाई इन्धनको मूल्य वृद्धि र त्यसपछि टिकट दर बढेसँगै यस रुटमा यात्रु संख्या तीव्र रूपमा घटेको नागरिक उड्डयन कार्यालय सिमराले जनाएको छ।
अघिसम्म दैनिक करिब ५ देखि ६ सय यात्रु आवतजावत गर्ने यो व्यस्त रुटमा अहिले यात्रु संख्या झरेर करिब २ सयमा सीमित भएको छ। भाडा करिब १ हजार १ सय रुपैयाँले बढेपछि यात्रुहरूलाई सिमराबाट काठमाडौं जान ५ हजार ५ सय ५० रुपैयाँ र काठमाडौंबाट सिमरा आउन ५ हजार १ सय ५० रुपैयाँ तिर्नुपर्ने अवस्था बनेको छ।
भाडा वृद्धि र माग घटेसँगै उडानहरू पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। करिब १५ मिनेटको छोटो हवाई यात्रामा समेत जहाजहरू आधाभन्दा कम यात्रुसहित उडिरहेका छन्। काठमाडौंबाट सिमरा आउने उडानमा औसत २५ जना र सिमराबाट फर्किने उडानमा झन्डै ३० जना मात्र यात्रु रहने गरेको तथ्यांकले देखाएको छ।
Buddha Air सिमरा कार्यालय प्रमुख सुरेश रेग्मीका अनुसार पछिल्ला दुई सातामा उडानको औसत अकुपेन्सी करिब ५० प्रतिशतमा झरेको छ। उहाँका अनुसार जेनजी आन्दोलनपछि नै यात्रु संख्या घट्न थालेको थियो भने पछिल्लो भाडा वृद्धिले मध्यम वर्गीय यात्रुहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
सिमरा विमानस्थल मुख्यतः पथलैया–वीरगञ्ज औद्योगिक करिडोरसँग जोडिएका व्यापारिक तथा राजनीतिक यात्रुहरूको मुख्य आधार मानिँदै आएको थियो। तर पछिल्लो समय राजनीतिक गतिविधि घट्नुले पनि यात्रु संख्यामा थप गिरावट आएको देखिन्छ।
यात्रु घट्नुको अर्को प्रमुख कारण सडक मार्गको सहज विकल्प पनि हो। सिमरा–काठमाडौं दूरी करिब चार घण्टामै सडकमार्गबाट पार गर्न सकिने भएकाले धेरै यात्रुहरूले महँगो हवाई भाडा बचाउन स्थलमार्ग रोज्न थालेका छन्। ट्राभल व्यवसायीहरूका अनुसार नियमित हवाई यात्रुहरू समेत अहिले बस तथा निजी सवारीतर्फ आकर्षित भएका छन्।
हाल सिमरा विमानस्थलबाट केवल Buddha Air ले मात्र एटीआर–७२ जहाजमार्फत दैनिक पाँच उडान सञ्चालन गरिरहेको छ। यसअघि सक्रिय रहेका Yeti Airlines, Shree Airlines, Saurya Airlines र Nepal Airlines ले भने यस रुटमा सेवा स्थगित गरिसकेका छन्।
