Type Here to Get Search Results !

गाउँमै उच्च शिक्षाको तयारी प्रसौनीमा आधुनिक पुस्तकालय बन्दै

बारा : भारतको महावाणिज्य दूतावास वीरगञ्जको पहलमा बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बंगा साह माध्यमिक विद्यालयमा विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य सुरु गरिएको छ। सोमबार आयोजित विशेष शिलान्यास कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीना र गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा परियोजनाको शुभारम्भ गर्नुभएको हो।

गाउँमै उच्च शिक्षाको तयारी प्रसौनीमा आधुनिक पुस्तकालय बन्दै

उक्त भवन भारत सरकारको करिब ३ करोड ३२ लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत अघि बढाइएको हो।

निर्माण हुने नयाँ संरचनामा आधुनिक सुविधा सम्पन्न कक्षाकोठा, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, क्यान्टिन र छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था रहनेछ। साथै, आवश्यक फर्निचर तथा शैक्षिक सामग्री पनि उपलब्ध गराइने जनाइएको छ, जसले विद्यालयको शैक्षिक वातावरणलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सरोकारवाला पक्षहरूको उपस्थिति रहेको थियो। उनीहरूले भारत सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यो परियोजनाले विद्यार्थीका लागि सुरक्षित, आधुनिक र अनुकूल अध्ययन वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।

वक्ताहरूले नेपाल–भारतबीचको सहकार्य शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता क्षेत्रमा निरन्तर विस्तार हुँदै गएको उल्लेख गर्दै यस्ता परियोजनाले स्थानीय विकासमा प्रत्यक्ष र दीर्घकालीन योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

विद्यालय भवन निर्माणपछि बङ्गा साह माध्यमिक विद्यालय क्षेत्रकै एक नमुना शैक्षिक केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.