Type Here to Get Search Results !

सिमरामा भ्रष्टाचार नियन्त्रण र सुशासनबारे अन्तरक्रिया, उजुरी व्यवस्थालाई प्रभावकारी बनाउने जोड

राहुल सिंह/बारा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाको आयोजनामा बाराको सिमरामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जीतपुर–सिमरा उपमहानगरपालिका स्तरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणबीच खुला संवाद भएको थियो।
सिमरामा भ्रष्टाचार नियन्त्रण र सुशासनबारे अन्तरक्रिया, उजुरी व्यवस्थालाई प्रभावकारी बनाउने जोड

कार्यक्रम आयोगका हेटौँडा कार्यालय प्रमुख सहसचिव Ramkrishna Pudasaini को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा जीतपुर–सिमरा उपमहानगरपालिकाका नगर प्रमुख Rajan Paudel सहभागी भएका थिए।

कार्यक्रममा आयोगका उपसचिव ठाकुरप्रसाद आचार्यले भ्रष्टाचारका प्रवृत्ति, त्यसका कारण र नियन्त्रणका उपायबारे विस्तृत कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन सबै तहका कर्मचारी तथा जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिए।

प्रमुख अतिथि नगर प्रमुख पौडेलले स्थानीय तहमा सुशासन कायम गर्न नागरिकको सक्रिय सहभागिता अनिवार्य रहेको बताए। उनले सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितताविरुद्ध सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीहरूले सेवा प्रवाहमा हुने ढिलासुस्ती, अनियमितता र व्यवहारगत समस्याबारे जिज्ञासा राखेका थिए। त्यसको जवाफ दिँदै अध्यक्ष पुडासैनीले उजुरी प्रणालीलाई अझ प्रभावकारी बनाइएको, उजुरीकर्ताको गोपनीयता सुनिश्चित गरिएको र प्राप्त उजुरीमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिए। उनले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी कडाइसँगै जनचेतना, नैतिक आचरण र संस्थागत सुधार आवश्यक रहेको बताए।
सिमरामा भ्रष्टाचार नियन्त्रण र सुशासनबारे अन्तरक्रिया, उजुरी व्यवस्थालाई प्रभावकारी बनाउने जोड

अख्तियारको हेटौँडा कार्यालयले बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा काम गर्दै आएको छ। तथ्यांकअनुसार बारा जिल्लामा गत आर्थिक वर्षका २४१ र चालु आर्थिक वर्षको चैत मसान्तसम्मका ३२६ गरी कुल ५६७ उजुरीमध्ये २४६ वटा फछ्र्यौट भइसकेका छन्।

यस्तै, चालु आर्थिक वर्षको चैत मसान्तसम्म जीतपुर–सिमरा उपमहानगरपालिकामा ४७ वटा उजुरी परेका छन्, जसमा १८ वटा फछ्र्यौट भएका छन्। कलैया उपमहानगरपालिकामा ५९ उजुरीमध्ये ३४ वटा टुंग्याइएको छ।

कार्यक्रमले स्थानीय तहमा पारदर्शिता अभिवृद्धि, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.