राहुल सिंह/बारा : पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक शक्ति युवा क्लबले अविश्वसनीय जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार भएको रोमाञ्चक खेलमा बलियो टोली वीरगन्ज युनाइटेड क्लबलाई सडन डेथमा पराजित गर्दै आयोजक अन्तिम दुईमा पुगेको हो।
खेल सुरुआतदेखि नै तीव्र प्रतिस्पर्धात्मक रह्यो। आयोजक शक्ति युवा क्लबले आक्रामक खेल प्रस्तुत गर्दै चौथो मिनेटमै सुजन श्रेष्ठको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि १०औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर २–० पुर्याए। तर सहज देखिएको खेल अन्त्यतिर निकै कठिन मोडमा पुगेको थियो।
वीरगन्ज युनाइटेडले हार मानेन। ३६औं मिनेटमा युवराज खड्काले गोल गर्दै अन्तर घटाए भने ५५औं मिनेटमा सागर चौधरीले बराबरी गोल फर्काउँदै खेल २–२ मा ल्याए। त्यसपछि निर्धारित समयसम्म थप गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलियो।
टाईब्रेकरमा पनि दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ को बराबरी खेले। अन्ततः नतिजा सडन डेथबाट टुंगियो, जहाँ शक्ति युवा क्लबले संयमित प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो।
आयोजकका गोलरक्षक रविन बस्नेतले निर्णायक भूमिकामा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ दि म्याच’ उपाधि जिते। उनलाई वीरगन्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधाकृष्ण साह रौनियारले नगदसहित पुरस्कृत गरेका थिए।
प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनलमा निजगढ फुटबल क्लब र एन्फा मकवानपुरबीच प्रतिस्पर्धा हुने छ। बैशाख १२ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा भारतसहित आठ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ।
