राहुल सिंह/बारा :लुमन्ती आवासका लागि सहयोग समूहको आयोजना तथा सशस्त्र प्रहरी बल (एपीएफ) १२ नम्बर गणको सहजीकरणमा जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं. ९, ११, १९ र २० मा मनसुन पूर्वतयारी तथा आगलागी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय बासिन्दालाई मनसुनको समयमा आउन सक्ने बाढी, डुबान, चट्याङलगायतका प्राकृतिक विपद्बाट जोगिने उपायबारे विस्तृत जानकारी दिइएको थियो। साथै आगलागी जस्ता आकस्मिक घटनाबाट बच्न अपनाउनुपर्ने सावधानी, प्राथमिक उद्धार विधि र आगो नियन्त्रणका आधारभूत सीपसमेत व्यवहारिक रूपमा सिकाइएको आयोजकले जनाएको छ।
सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका क्रममा अपनाइने व्यवहारिक उपाय, सुरक्षित स्थानतर्फ स्थानान्तरण प्रक्रिया तथा आपतकालीन अवस्थामा सम्पर्क गर्नुपर्ने निकायहरूबारे जानकारी दिएका थिए। लुमन्तीका सामाजिक परिचालक रबि तिवारीका अनुसार स्थानीयस्तरमै जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास समिति, युवा समूह तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विपद् व्यवस्थापनबारे व्यवहारिक ज्ञान बढाएको र समुदायलाई सचेत बनाउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
लुमन्ती आवासका लागि सहयोग समूहले आगामी दिनमा पनि समुदायस्तरमै सुरक्षित बासोबास, विपद् न्यूनीकरण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

