बारा : उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौं इन्फोसिस एजुकेशन कन्सल्टेन्सी (के.आइ.ई.सि) ले सिमरामा आफ्नो १६औँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सिमरास्थित वाणिज्य बैंकको भवनमा आयोजित विशेष समारोहका बीच शाखाको ‘ग्राण्ड ओपनिङ’ गरिएको हो।
शाखाको उद्घाटन के.आइ.ई.सि. काठमाडौं मुख्य कार्यालयका कार्यकारी निर्देशक राजेन्द्र रिजाल र सिमरा शाखाकी कार्यकारी निर्देशक सबु कडेंलले संयुक्त रूपमा गरेका हुन्।
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक रिजालले जीतपुरसिमरा उपमहानगरपालिका र आसपासका ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए। उनले भने, “विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि हामी भरोसायोग्य माध्यम बन्नेछौं। सही सूचना, पारदर्शी प्रक्रिया र व्यक्तिगत परामर्श हाम्रो मुख्य प्राथमिकता हुनेछ।”
उनका अनुसार नयाँ शाखामार्फत विद्यार्थीहरूलाई विभिन्न देशका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयबारे जानकारी, कोर्स छनोट, आवेदन प्रक्रिया, भाषा तयारी, भिसा काउन्सिलिङ र प्रस्थानपूर्व मार्गनिर्देशनजस्ता सेवा उपलब्ध गराइनेछ।
कार्यक्रममा स्थानीय अभिभावक, विद्यार्थी, शैक्षिक क्षेत्रका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सिमरामै यस्ता सेवा उपलब्ध हुनु सकारात्मक कदम भएको भन्दै अब काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरेका छन्।
कन्सल्टेन्सीका प्रतिनिधिहरूले पछिल्लो समय विदेश अध्ययनप्रति युवाहरूको आकर्षण बढ्दो रहेको उल्लेख गर्दै सुरक्षित र व्यवस्थित वैदेशिक शिक्षाका लागि विश्वसनीय परामर्श अत्यावश्यक रहेको बताए।
नयाँ शाखा सञ्चालनसँगै सिमरा तथा आसपासका विद्यार्थीहरूले अब आफ्नै क्षेत्रबाटै सम्पूर्ण शैक्षिक परामर्श सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
