सिमरा/बारा : जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित मुख्य बजार क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण गरिएका सटरहरू शुक्रबार व्यवसायीहरूले आफैं खाली गरेका छन्। लामो समयदेखि चलिरहेको कानुनी र प्रशासनिक विवादपछि अन्ततः सटर हटाउने प्रक्रिया अघि बढेको हो।
नगर अस्पतालतर्फ जाने बाटोको उत्तर र रामजानकी मन्दिरको दक्षिणतर्फ रहेका सात वटा सटरमा मेडिकल, रेडिमेड कपडा पसल र सैलुन सञ्चालन हुँदै आएका थिए। यी व्यवसायहरू वर्षौंदेखि त्यही स्थानमा सञ्चालनमा थिए।
उपमहानगरपालिकाले पछिल्लो पटक बैशाख १६ गते सूचना जारी गर्दै तीन दिनभित्र सटर खाली गर्न निर्देशन दिएको थियो। साथै, बैशाख १८ भित्र खाली नगरे सामान जफत गर्ने चेतावनीसमेत दिइएपछि व्यवसायीहरू आफैंले सटर हटाउन थालेका हुन्।
सटर खाली गराउन उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रमेश सुवेदीसहित नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो। तर व्यवसायीहरूले आफैं हटाउन थालेपछि सुरक्षा निकायले सहयोगी भूमिकामा समय दिएको थियो।
उक्त जग्गा साविक पिपरा सिमरा गाविस वडा नं. २ को कित्ता नं. ८३२ मा पर्ने सार्वजनिक जग्गा हो। उपमहानगरपालिकाले सो जग्गामा बनेका संरचना हटाउने निर्णय गरेको थियो, जसविरुद्ध व्यवसायी बिमला अधिकारीले उच्च अदालत वीरगन्जमा रिट दायर गरेकी थिइन्।
पहिले अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि पछि बैशाख ११ गते न्यायाधीश जगतबहादुर थापा र निर्मला शाक्यको संयुक्त इजलासले उक्त आदेश खारेज गर्दै उपमहानगरपालिकालाई अघि बढ्ने बाटो खुला गरिदिएको थियो।
त्यसपछि उपमहानगरपालिकाले सटर हटाउने प्रक्रिया अघि बढाएको हो। प्रशासकीय अधिकृत सुवेदीका अनुसार जेठ ४ गतेको अन्तिम अदालती निर्णय नआउँदासम्म आवश्यक समन्वयसहित ताला लगाउने काम मात्र गरिनेछ।
यसैबीच, स्थानीय प्रशासन, सुरक्षा निकाय र व्यवसायीबीच समन्वय गर्दै सटर खाली गर्ने प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
