बारा: राष्ट्रिय वन क्षेत्रमा बढ्दो अतिक्रमणलाई नियन्त्रण गर्न सबैया सब–डिभिजन वन कार्यालयले कडा कदम चालेको छ। वन क्षेत्र कब्जा गरी बसोबास, खेतीपाती तथा संरचना निर्माण भइरहेको भन्दै कार्यालयले अतिक्रमित क्षेत्र तत्काल खाली गर्न सार्वजनिक सूचना जारी गरेको हो।
मधेश प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय पर्साको मातहतमा रहेको सबैया सब–डिभिजन वन कार्यालयले बैशाख २५ गते सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका वडा नं. ३१ र ३२ अन्तर्गत पर्ने सोलखपुर र रामवन गाउँ क्षेत्रको राष्ट्रिय वन अतिक्रमण बढ्दै गएको जनाएको छ।
वन कार्यालयका अनुसार केही व्यक्तिहरूले अनधिकृत रूपमा वन क्षेत्र कब्जा गरी खेतीपाती गर्ने, घर, छाप्रो, टहरा तथा अन्य संरचना निर्माण गर्ने कार्य गरिरहेका छन्। कार्यालयले यस्तो गतिविधि वन ऐनविपरीत भएको स्पष्ट पार्दै तीन दिनभित्र सम्पूर्ण अतिक्रमित क्षेत्र खाली गर्न निर्देशन दिएको छ।
सूचनामा राष्ट्रिय वनको कुनै पनि जग्गा जोत्न, खन्न, वन फँडानी गर्न वा स्थायी तथा अस्थायी संरचना निर्माण गर्न नपाइने उल्लेख गरिएको छ। वन ऐन २०७६ को दफा ४९(ग) अनुसार वन क्षेत्रमा अतिक्रमण गर्नु कानुनविपरीत कार्य भएको कार्यालयले जनाएको छ।
वन कार्यालयले तोकिएको समयभित्र अटेर गरे वन ऐन २०७६ को दफा ५०(३) अनुसार पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना, अथवा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।
सहायक पाँचौँ भुपाल रोकायद्वारा जारी सूचनामा वन संरक्षण सबैको साझा दायित्व भएकाले सरकारी वन अतिक्रमण नगर्न तथा कानुनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
पछिल्लो समय तराई क्षेत्रमा वन अतिक्रमण र अव्यवस्थित बसोबासको समस्या बढ्दै जाँदा वन कार्यालयले निगरानी र कानुनी कारबाहीलाई थप कडाइ गर्ने संकेत दिएको छ।
