Type Here to Get Search Results !

जथाभावी फोहोर फाल्नेलाई अब ५० हजारसम्म जरिवाना

बारा: वातावरण संरक्षण तथा नगर क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यसहित जीतपुरसिमरा उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा कडाइ सुरु गरेको छ। अब सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ।
जथाभावी फोहोर फाल्नेलाई अब ५० हजारसम्म जरिवाना

बिहीबार जारी गरिएको सार्वजनिक सूचनामार्फत उपमहानगरपालिकाले सडक, चोक, फुटपाथ, नाला, नदी–नाला तथा अन्य सार्वजनिक स्थलमा फोहोर फाल्ने कार्य पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको हो।

उपमहानगरपालिकाका अनुसार फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा स्थानीय फोहोरमैला व्यवस्थापन कार्यविधि २०७९ अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ। कसुरको प्रकृति हेरेर अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ।

सामान्य प्रकृतिको फोहोर सार्वजनिक स्थानमा फाल्ने व्यक्तिलाई पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना गरिनेछ। यदि सोही व्यक्तिले पुनः त्यस्तै गल्ती दोहोर्‍याएमा प्रत्येक पटक जरिवानाको रकम दोब्बर हुँदै जाने प्रावधान लागू गरिएको सूचनामा उल्लेख छ।

नगर क्षेत्रको सरसफाइ, वातावरणीय सन्तुलन तथा सार्वजनिक स्वास्थ्यलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न यस्तो अभियान सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ। साथै नगरबासीलाई तोकिएको स्थानमै फोहोर व्यवस्थापन गर्न र वातावरण संरक्षण अभियानमा सक्रिय सहयोग पुर्‍याउन आग्रह गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.