बारा: बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको अनुसन्धान फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि ठूलो आर्थिक क्षति पुगेको छ। संक्रमण फैलिन नदिन हजारौँ पन्छी तथा तिनका आहार नष्ट गर्नुपरेपछि फार्म अहिले सुनसान बनेको छ।
गत चैतको अन्तिम सातादेखि देखिएको संक्रमणका कारण फार्ममा पालिएका विभिन्न प्रजातिका पन्छीहरू नष्ट गर्नुपरेको कार्यालयले जनाएको छ। कार्यक्रमका सूचना अधिकारी खमबहादुर प्रजाका अनुसार संक्रमण नियन्त्रणका लागि करिब दुई हजार कुखुराका चल्ला, गिरीराजसहित करिब १२ सय कुखुरा, ३३ वटा तित्रा, ४७ वटा सेतो तथा कालो टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको हो।
संक्रमण फैलिन नदिन प्रयोगका लागि राखिएको ठूलो परिमाणको दाना पनि नष्ट गरिएको छ। कार्यालयका अनुसार एल वान ८३५ किलोग्राम, एल टु ४५५ किलोग्राम तथा एल थ्रि एक हजार ८३५ किलोग्राम दाना नष्ट गरिएको हो।
कार्यालयले बर्डफ्लु संक्रमणका कारण हालसम्म करिब ५० लाख रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको जनाएको छ। अनुसन्धान र प्रजननका लागि पालिएका पन्छी नष्ट भएपछि कार्यक्रमको नियमित कार्यसमेत प्रभावित बनेको छ।
संक्रमित क्षेत्रलाई सुरक्षित बनाउन अहिले फार्ममा निर्मलीकरणको काम तीव्र पारिएको छ। सूचना अधिकारी प्रजाका अनुसार चुना छर्किने, मल व्यवस्थापन गर्ने तथा आगोको ताप प्रयोग गरेर सरसफाइ र संक्रमण नियन्त्रणका कार्य भइरहेको छ।
बर्डफ्लु संक्रमण देखिएपछि आसपासका क्षेत्रमा पनि सतर्कता बढाइएको छ। सम्बन्धित निकायले किसान तथा सर्वसाधारणलाई पन्छीपालन क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
