बारा:डुमरवानामा आयोजित प्रथम खुला महिला भलिबल प्रतियोगिताको उपाधि बाराको जनशक्ति क्लब कोल्हवीले जितेको छ। डुमरवाना विकास मञ्चको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सर्लाहीको लक्ष्मी नाथ क्लब हरिपुरलाई रोमाञ्चक प्रतिस्पर्धामा पराजित गर्दै जनशक्ति क्लब च्याम्पियन बनेको हो।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक र दर्शकका लागि रोमाञ्चक बनेको थियो। पाँच सेटसम्म चलेको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिका लागि कडा संघर्ष गरेका थिए। कहिले एक टोली त कहिले अर्को टोली हावी भइरहँदा खेल मैदानमा उपस्थित दर्शकको उत्साह पनि चरममा पुगेको थियो। अन्तिम तथा निर्णायक सेटमा जनशक्ति क्लब कोल्हवीले संयमित खेल प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो।
उपाधिसँगै विजेता जनशक्ति क्लब कोल्हवीले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको आयोजकले जनाएको छ। उपविजेता बनेको लक्ष्मी नाथ क्लब हरिपुर सर्लाहीले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि लक्ष्मी नाथ क्लब हरिपुरकी नेहा चौधरीले जितिन् भने जनशक्ति क्लब कोल्हवीकी कोपिला चौधरी ‘बेस्ट स्पाइकर’ घोषित भइन्। उनीहरूको उत्कृष्ट प्रदर्शनले खेललाई थप आकर्षक बनाएको दर्शकहरूले बताएका थिए।
प्रतियोगिताको समापन समारोह डुमरवाना विकास मञ्चका अध्यक्ष गोविन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।
त्यस अवसरमा वडा नं. १६ की वडाध्यक्ष चयन माया गुरुङ, समाजसेवी रूपलाल चौधरी, पलट चौधरी लगायत स्थानीय अगुवाहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले महिला खेलकुदको विकास, प्रतिभा पहिचान र युवतीहरूलाई खेलतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
