बारा: बाराको कलैयामा मंगलबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने खालका खाद्य सामग्री बिक्री गर्ने पसलमाथि प्रशासनले कडा कारबाही गरेको छ। बजार क्षेत्रमा छड्के रूपमा पुगेको अनुगमन टोलीले गुणस्तरहीन तथा म्याद गुज्रिएका खाद्य वस्तु भेटिएपछि केही व्यवसायीलाई जरिवाना गर्नुका साथै आवश्यक कागजात पेश गर्न निर्देशन दिएको हो।
संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराईको नेतृत्वमा खटिएको टोलीले कलैयाका विभिन्न खाद्य पसल, होटल तथा किराना व्यवसायमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा कलैया–६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्विट्स एन्ड बेकरीमा गुणस्तरहीन मो:मो, बिरयानी तथा अन्य खाद्य सामग्री फेला परेको थियो। पसलमा उपभोक्ताले देख्ने गरी मूल्य सूचीसमेत नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।
त्यसैगरी कलैया–५ स्थित केसर स्विट्समा म्याद गुज्रिएको आइसक्रिम र मो:मो बिक्रीका लागि राखिएको भेटिएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जानकारी दिएको छ।
कलैया–४ स्थित रोशन बाबु जेनेरल स्टोरमा म्याद गुज्रिएको खाने तेल फेला परेपछि उक्त सामग्री तत्काल जफत गरी नष्ट गरिएको थियो।
अनुगमन टोलीले नेपाल डेरी उद्योग, एक मासु पसल तथा सत्या होटललाई आवश्यक कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
त्यस्तै, दुर्गा खाजा घरमा नापतौलसम्बन्धी अनुमति पत्र नभेटिएपछि नापतौल कार्यालय वीरगञ्जमा उपस्थित हुन भनिएको छ भने नवल सेकुवालाई मूल्य सूची नराखेको भन्दै चेतावनी दिइएको छ।
पछिल्लो समय बजार क्षेत्रमा म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्री खुलेआम बिक्री भइरहेको गुनासो बढ्न थालेपछि प्रशासनले अनुगमनलाई तीव्र बनाएको जनाएको छ। स्थानीय उपभोक्ताले पनि नियमित अनुगमन र दोषी व्यवसायीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
