Type Here to Get Search Results !

पाइपलाइनबाट पेट्रोल आयात दोब्बर, अम्लेखगञ्ज डिपोबाट २० जिल्लामा आपूर्ति

बारा: बाराको अम्लेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोल आपूर्ति सुरु भएपछि इन्धन आयातमा उल्लेखनीय वृद्धि भएको छ। विशेषगरी पेट्रोल पाइपलाइन प्रणालीमा जोडिएपछि चालु आर्थिक वर्षमा पेट्रोल आयात झन्डै दोब्बर पुगेको निगमले जनाएको छ।
पाइपलाइनबाट पेट्रोल आयात दोब्बर, अम्लेखगञ्ज डिपोबाट २० जिल्लामा आपूर्ति



डिपोको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ लाख ८४ हजार किलोलिटर पेट्रोल आयात भएको थियो। तर चालु आर्थिक वर्षमा त्यो परिमाण बढेर ४ लाख किलोलिटर पुगेको छ। डिजेल आयातमा भने सामान्य वृद्धि देखिएको छ। गत वर्ष ९ लाख किलोलिटर डिजेल आयात भएकामा यस वर्ष ९ लाख १५ हजार ६१३ किलोलिटर डिजेल भित्रिएको छ।

२०७६ सालदेखि डिजेल पाइपलाइनमार्फत ल्याउन थालिए पनि पेट्रोल भने गत वर्षको फागुनदेखि मात्रै पाइपलाइन प्रणालीमा जोडिएको हो। यसअघि भारतको बरौनीबाट ट्याङ्करमार्फत पेट्रोल ल्याइन्थ्यो। अहिले भारतको मोतिहारी डिपोबाट पाइपलाइनमार्फत पेट्रोल पठाइन्छ, जुन अम्लेखगञ्ज आइपुग्न करिब चार दिन लाग्ने गर्दछ।

डिपो प्रमुख अशोक साहका अनुसार पाइपलाइन सञ्चालनसँगै ढुवानी प्रणाली सहज, सुरक्षित र भरपर्दो बनेको छ। “पहिले स्थानीय बजारको आवश्यकताका लागि मात्रै पेट्रोल ल्याइन्थ्यो, अहिले देशका प्रमुख शहरहरूमा यहीँबाट इन्धन पठाइन्छ,” उनले बताए।

हाल अम्लेखगञ्ज डिपोबाट थानकोट, पोखरा, विराटनगर, भैरहवा, जनकपुर र वीरगञ्जसहित २० जिल्लामा सरकारी तथा निजी पेट्रोल पम्पहरूलाई इन्धन आपूर्ति भइरहेको छ। पाइपलाइन सञ्चालनपछि निगमलाई आर्थिक तथा प्राविधिक रूपमा समेत फाइदा पुगेको छ।

निगमका अनुसार ट्याङ्कर ढुवानीका क्रममा हुने चुहावट, चोरी, तस्करी, दुर्घटना र प्रदूषणमा उल्लेखनीय कमी आएको छ। प्रतिलिटर करिब ३ रुपैयाँ ढुवानी खर्च बचत भइरहेकाले वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकम जोगिएको निगमको दाबी छ।

अम्लेखगञ्ज डिपोमा हाल पेट्रोल १७ हजार ७४७ किलोलिटर र डिजेल २५ हजार ८४३ किलोलिटर भण्डारण क्षमता रहेको छ। यो मौज्दातले पेट्रोल ४ देखि ५ दिन र डिजेल ६ देखि ७ दिनसम्म बजार धान्न सक्ने निगमले जनाएको छ।

यता, पाइपलाइनबाट आयात बढे पनि आन्तरिक बजारमा इन्धनको खपत भने घट्दो क्रममा रहेको देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु र अमेरिका–इरान तनावका कारण विश्व बजार अस्थिर बन्दा त्यसको प्रभाव नेपालमा पनि परेको छ। बढ्दो मूल्यका कारण उपभोक्ताले इन्धनको प्रयोग घटाउन थालेको निगमको अनुमान छ।

यसअघि दैनिक औसत ५ हजार किलोलिटर डिजेल र २ हजार किलोलिटर पेट्रोल बिक्री हुने अम्लेखगञ्ज डिपोमा अहिले डिजेलको बिक्री घटेर ३ हजार ५ सय किलोलिटरमा झरेको छ भने पेट्रोल बिक्री १ हजारदेखि १ हजार ५ सय किलोलिटरमा सीमित भएको छ।

निर्माण क्षेत्र सुस्ताउँदा मटीतेलको खपतसमेत घटेको निगमले जनाएको छ। यद्यपि हाल बजारमा इन्धनको कुनै अभाव नरहेको र पर्याप्त मौज्दात सुरक्षित रहेको डिपो प्रमुख साहले बताएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.