बारा: बारा सहित मधेश प्रदेशका विभिन्न जिल्लामा नम्बर प्लेट नराखी वा अस्पष्ट नम्बर प्लेट प्रयोग गरेर सवारी सञ्चालन गर्ने प्रवृत्तिविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ। सडक सुरक्षालाई थप प्रभावकारी बनाउन र आपराधिक गतिविधिमा संलग्न सवारी साधनको सहज पहिचान सुनिश्चित गर्न ट्राफिक प्रहरीले कडाइ थालेको हो।
नेपाल प्रहरी अन्तर्गतको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया तथा मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले संयुक्त रूपमा अभियान सञ्चालन गरेका हुन्। पछिल्लो समय नम्बर प्लेट मेटिएका, धुलोमाटोले ढाकिएका, टालटुल पारिएका वा नै नराखिएका सवारी साधनको संख्या बढ्न थालेपछि प्रहरीले निगरानी तीव्र बनाएको जनाएको छ।
राजमार्ग तथा मुख्य बजार क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधन रोकि नम्बर प्लेट जाँच गरिएको थियो। नियम विपरीत सञ्चालन भएका सवारी साधनलाई आवश्यक कारबाही गर्नुका साथै तत्काल नम्बर प्लेट स्पष्ट बनाउन निर्देशन दिइएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार अस्पष्ट नम्बर प्लेट भएका सवारी साधन दुर्घटना, चोरी वा अन्य आपराधिक घटनामा संलग्न भएमा पहिचान गर्न कठिन हुने गर्दछ। यसले अनुसन्धान प्रक्रिया मात्र होइन, समग्र ट्राफिक व्यवस्थापनमै चुनौती थप्ने गरेको प्रहरीको भनाइ छ।
स्थानीय बासिन्दाहरूले पनि अभियानलाई सकारात्मक रूपमा लिएका छन्। “सडकमा दुर्घटना हुँदा वा कुनै घटना घट्दा नम्बर नै नदेखिने सवारी धेरै हुन्छन्, यस्तो अभियानले जिम्मेवारी बढाउँछ,” एक स्थानीय व्यवसायीले बताए।
प्रहरीले सबै सवारी चालक तथा धनीलाई अगाडि र पछाडि दुवै भागमा स्पष्ट नम्बर प्लेट राख्न, तोकिएको मापदण्डअनुसारकै नम्बर प्लेट प्रयोग गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुरक्षित, व्यवस्थित र अनुशासित यातायात प्रणाली निर्माणका लागि नागरिकको सहकार्य अपरिहार्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।

.gif)