Type Here to Get Search Results !

रोजीरोटी खोसियो” भन्दै जीतपुर तनावग्रस्त , फुटपाथ व्यवसायी र नगर प्रमुखबीच विवाद चर्कियो

बारा : जीतपुरसिमरा उपमहानगरपालिकामा फुटपाथ व्यवस्थापनको विषयलाई लिएर उत्पन्न विवाद अहिले थप चर्किएको छ। सडक किनारमा वर्षौंदेखि सानो व्यापार गर्दै आएका फुटपाथ व्यवसायीहरू र उपमहानगरपालिकाबीचको तनाव बुधबार चरम अवस्थामा पुगेको हो।
रोजीरोटी खोसियो” भन्दै जीतपुर तनावग्रस्त : फुटपाथ व्यवसायी र नगर प्रमुखबीच विवाद चर्कियो
जीतपुर गुदरी बजारको ठेक्का लिएका ठेकेदार शम्भु गुप्ता व्यवसायीहरूको टोलीसहित आफ्ना माग राख्न नगर प्रमुख राजन पौडेलसँग छलफल गर्न उपमहानगरपालिकाको कार्यकक्ष पुगेका थिए। तर नगर प्रहरीले फुटपाथ खाली गराउने क्रममा हातपात भएको आरोप लगाउँदै नगर प्रमुख पौडेलले गुप्तासँग वार्तामा बस्न अस्वीकार गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार त्यसपछि गुप्तालाई कार्यकक्षबाट बाहिर निकालिएको थियो।

यस घटनाले आक्रोशित बनेका फुटपाथ व्यवसायीहरूले त्यसअघि नै वीरगञ्ज–पथलैया राजमार्ग अन्तर्गत जीतपुर क्षेत्रमा सडक अवरुद्ध गरेका थिए। करिब आधा घण्टासम्म भएको चक्काजामका कारण यात्रुहरू समस्यामा परेका थिए भने बजार क्षेत्र तनावग्रस्त बनेको थियो। पछि ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जीतपुरको संयुक्त पहलमा सडक खुलाइएको थियो।

फुटपाथ व्यवसायीहरू भने आफूहरूको रोजीरोटी संकटमा परेको बताउँछन्। “हामीसँग ठूलो व्यापार छैन, यही सडकछेउको सानो पसलले घर चलाएको छ,” एक व्यवसायीले भावुक हुँदै भने, “व्यवस्थापन बिना हटाइँदा हामी कहाँ जाने ?”

यता उपमहानगरपालिकाले सार्वजनिक सडक र फुटपाथ अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने स्पष्ट पारेको छ। नगर प्रमुख पक्षले बजार व्यवस्थापन र ट्राफिक सहजताका लागि अभियान आवश्यक रहेको दाबी गरेको छ।

तर घटनापछि जीतपुर बजार क्षेत्रमा स्थानीय तहको व्यवहार र फुटपाथ व्यवसायीहरूको पीडालाई लिएर सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। केहीले नगरपालिकाको कदमलाई ‘व्यवस्थित शहर निर्माण’ को प्रयास भनेका छन् भने धेरैले गरीब तथा श्रमिक वर्गको जीविकामाथि प्रहार भएको टिप्पणी गरिरहेका छन्।

फुटपाथ व्यवस्थापनको नाममा बढ्दै गएको यो विवाद अब केवल सडकको मुद्दा मात्र नभई गरिबको रोजीरोटी र स्थानीय सरकारको संवेदनशीलताको परीक्षाका रूपमा हेरिन थालेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.