Type Here to Get Search Results !

अमलेखगञ्जको ३ नम्बर पुल क्षेत्रमा डोजर, वर्षौंदेखिका होटल र टहरा हटाइए

बारा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ अन्तर्गत अमलेखगञ्ज नजिक ३ नम्बर पुल क्षेत्रको वर्षौंदेखिको अतिक्रमण शुक्रबार हटाइएको छ । वन, निकुञ्ज तथा सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका होटल, टहरा र अन्य संरचनाहरू हटाउन बिहानैदेखि सुरु भएको अभियान साँझसम्म निरन्तर चलेको थियो ।
अमलेखगञ्जको ३ नम्बर पुल क्षेत्रमा डोजर, वर्षौंदेखिका होटल र टहरा हटाइए

डिभिजन वन कार्यालय बारा, पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय र सडक डिभिजन कार्यालय हेटौँडाको संयुक्त टोलीले जिल्ला सुरक्षा निकायको सहयोगमा करिब ३ हेक्टर क्षेत्र अतिक्रमणमुक्त गराएको डिभिजनल वन अधिकृत सुजित कुमार झाले जानकारी दिए ।

उनका अनुसार उक्त क्षेत्रमा सञ्चालनमा रहेका ३५ वटा होटल तथा खाजाघरसँग सम्बन्धित ७० वटा घरटहरा हटाइएको छ । त्यससँगै प्रयोगविहीन अवस्थामा रहेको एउटा विद्यालय भवन र एउटा शौचालयसमेत डोजर प्रयोग गरेर हटाइएको थियो ।बिहान ६ बजेदेखि सुरु भएको अतिक्रमण हटाउने अभियान बेलुका ६ बजेसम्म लगातार १२ घण्टा सञ्चालन भएको थियो । अभियानका क्रममा सुरक्षा निकायको बाक्लो उपस्थिति देखिएको थियो भने स्थानीयवासीले चासोका साथ गतिविधि नियालिरहेका थिए ।

सम्बन्धित निकायका अनुसार हटाइएका संरचनाहरू वन क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र तथा सडकको ‘राइट अफ वे’ मिचेर बनाइएका थिए । प्रारम्भिक सर्वेक्षणमा त्यहाँ बसोबास तथा व्यवसाय गर्दै आएका अधिकांश व्यक्तिसँग अन्यत्र घरजग्गा रहेको पाइएको जनाइएको छ ।डिभिजन वन कार्यालय बाराले वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा सडक ऐन २०३५ अनुसार अतिक्रमित संरचना हटाइएको स्पष्ट पारेको छ ।
अमलेखगञ्जको ३ नम्बर पुल क्षेत्रमा डोजर, वर्षौंदेखिका होटल र टहरा हटाइए

निकायहरूले हटाइएका होटल तथा टहराहरू बाढी, पहिरो, वन्यजन्तुको आक्रमण तथा सडक दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्रमा रहेको बताएका छन् । वर्षौंदेखि राजमार्ग छेउमा फैलिएको अव्यवस्थित बसोबास र व्यवसायले वन संरक्षणसँगै यात्रु सुरक्षामा समेत चुनौती थप्दै आएको स्थानीयको भनाइ छ ।

अभियान सफल बनाउन प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेश वन सचिव, वन निर्देशक, वन प्राविधिक तथा वन सुरक्षा कर्मीहरूको सक्रिय भूमिका रहेको जनाइएको छ । कुनै अप्रिय घटना वा मानवीय क्षतिविना अभियान सम्पन्न भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.