काठमाडौं: सरकारले लिपुलेक क्षेत्रबारे आफ्नो स्पष्ट अडान दोहोर्याउँदै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले लिपुलेक नेपालको भूमि भएकोमा सरकार प्रष्ट रहेको बताए। “हामीले कूटनीतिक नोट जारी गरेको भनेपछि सम्बन्धित देशलाई पठाएकै हो,” उनले भने, “भारतले भनेजस्तो नेपालले सीमा विस्तार गर्न खोजेको होइन, त्यो हाम्रो आफ्नै भूमि हो।”
भारत र चीनले लिपुलेक हुँदै मानसरोवर जाने मार्ग सञ्चालन गर्न लागेको विषयमा नेपालले आपत्ति जनाउँदै आएको छ। यसै सन्दर्भमा सरकारको तर्फबाट औपचारिक रूपमा कूटनीतिक माध्यमबाट ध्यानाकर्षण गराइएको हो।
मन्त्री पोखरेलले नेपाल आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा स्पष्ट र दृढ रहेको उल्लेख गरे। “लिपुलेक हाम्रो भूमि हो भन्ने कुरामा हामी स्पष्ट छौँ र हाम्रो अडान यथावत् छ,” उनले जोड दिए।
लिपुलेक क्षेत्र लामो समयदेखि नेपाल, भारत र चीनबीच विवादको विषय बन्दै आएको छ। पछिल्लो घटनाक्रमसँगै नेपालले पुनः आफ्नो दाबी कूटनीतिक रूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय स्तरमा सन्देश दिन खोजेको देखिन्छ।
