बारा:नेपाली क्रिकेट समर्थकका लागि उत्साहजनक खबर आएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेलका लागि टिकट मूल्य घटाएको छ, जसले मैदानमा दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ।
क्यानले सोमबार जारी गरेको सूचनाअनुसार मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको महत्वपूर्ण खेल अब मात्र २०० रुपैयाँमा हेर्न पाइनेछ। यसअघि यही टिकटको मूल्य ४०० रुपैयाँ तोकिएको थियो।
टिकट सस्तो भएसँगै क्रिकेटप्रेमीहरूमा उत्साह थपिएको छ। “हामीजस्ता विद्यार्थीका लागि यो ठूलो अवसर हो, अब सजिलै मैदान पुगेर खेल हेर्न पाइन्छ,” एक समर्थकले खुशी व्यक्त गरे।
हाल लिग–२ अन्तर्गत नेपालले २३ खेल खेलिसकेको छ र १६ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ। यस्तो अवस्थामा घरेलु मैदानमा हुने खेलहरू टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ।
क्यानले आगामी मे १२ देखि सुरु हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको अर्को त्रिकोणात्मक शृंखलाका लागि पनि टिकट मूल्य २०० रुपैयाँ नै कायम गर्ने निर्णय गरेको छ।
