Type Here to Get Search Results !

बारामा भारतबाट अवैध रूपमा ल्याइँदै गरेका डेढ लाख रुपैयाँ बराबरका चल्ला बरामद,


कलैया: 
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका कुखुराका चल्ला बारा प्रहरीले बरामद गरी नष्ट गरेको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका लागि भइरहेको निगरानीका क्रममा प्रहरीले ठूलो परिमाणमा चल्ला फेला पारेको हो।
बारामा भारतबाट अवैध रूपमा ल्याइँदै गरेका डेढ लाख रुपैयाँ बराबरका चल्ला बरामद,

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरी चौकी कचोर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक देवबहादुर बिष्टको नेतृत्वमा खटिएको गस्ती टोलीले शनिबार सिम्रौनगढ नगरपालिका–६ अमरपुर क्षेत्रमा निगरानी गरिरहेको बेला भारतबाट टाउकोमा बोकेर कुखुराका चल्ला ल्याउँदै गरेका केही व्यक्तिहरूलाई देखेको थियो।

प्रहरी टोली नजिकिँदै गरेको थाहा पाएपछि चल्ला बोकेका व्यक्तिहरूले कार्टुनहरू बाटोमै छाडेर भारततर्फ फरार भएका थिए। घटनास्थलबाट प्रहरीले ८८ कार्टुन कुखुराका चल्ला बरामद गरेको जनाएको छ।

बरामद गरिएका चल्लाहरूको अनुमानित मूल्य करिब एक लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। खुला सीमाको फाइदा उठाउँदै पशुपन्छीजन्य सामग्री अवैध रूपमा भित्र्याउने प्रयास भइरहेका बेला प्रहरीले समयमै नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार बरामद गरिएका चल्लाहरूलाई स्थानीय जनप्रतिनिधि तथा क्वारेन्टाइन अधिकृतको रोहवरमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको छ।

अवैध रूपमा भित्र्याइने पशुपन्छीजन्य सामग्रीले रोग संक्रमणको जोखिम बढाउने तथा स्थानीय उत्पादनलाई समेत असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानीलाई थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले नियमित गस्ती र अनुगमनलाई तीव्र बनाएको समेत बताइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.