Type Here to Get Search Results !

राष्ट्रपति रनिङ्ग शिल्ड विजेता खेलाडीलाई जीतपुरसिमराको सम्मान, नगद पुरस्कारसहित हौसला

बारा: जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्ना विद्यार्थी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ। प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूको मनोबल उच्च बनाउन उपमहानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।
राष्ट्रपति रनिङ्ग शिल्ड विजेता

जिल्ला खेलकुद समिति बाराको आयोजनामा सम्पन्न प्रतियोगितामा उपमहानगरपालिकाका ८६ जना विद्यार्थी खेलाडी सहभागी भएका थिए। तीमध्ये ७६ जना खेलाडी विभिन्न विधामा पदक जित्न सफल भएका थिए, जसले जीतपुरसिमरालाई समग्रमा प्रथम स्थान दिलाएको थियो।

उपमहानगरपालिकाको युवा, शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख शिवजी प्रसादका अनुसार स्वर्ण पदक विजेता विद्यार्थीलाई जनही १ हजार ५ सय रुपैयाँ, रजत पदक विजेतालाई जनही १ हजार रुपैयाँ तथा कास्य पदक विजेतालाई जनही ५ सय रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगितामा जीतपुरसिमराका खेलाडीहरूले २० स्वर्ण, २० रजत र १० कास्य पदक जित्दै कुल ५० पदक आफ्नो नाममा पार्न सफल भएका थिए। यही उपलब्धिका आधारमा उपमहानगरपालिका जिल्लाभर प्रथम बन्न सफल भएको हो।प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहको सहभागिता रहेको थियो। निजगढ नगरपालिका दोस्रो तथा कलैया उपमहानगरपालिका तेस्रो स्थानमा सीमित भएका थिए।

सम्मान कार्यक्रममा नगर प्रमुख राजन पौडेलले खेलाडीहरूको मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनले उपमहानगरपालिकाको प्रतिष्ठा बढाएको बताए। उनले विद्यार्थी खेलाडीहरूलाई थप प्रेरणा र उत्साह दिन नगदसहित सम्मान गरिएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग र प्रोत्साहन आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

उपप्रमुख भोला प्रसाद अधिकारीले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्ने भएकाले यस्ता प्रतियोगितालाई उपमहानगरपालिकाले विशेष प्राथमिकतामा राखेको बताए। उनले खेलकुदमार्फत नयाँ प्रतिभा उत्पादन र विकासमा स्थानीय सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

कार्यक्रममा प्रशिक्षक, विद्यालयका प्रतिनिधि तथा विद्यार्थी खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सम्मानित खेलाडीहरू पनि आफ्नो सफलतालाई आगामी दिनमा अझ ठूलो उपलब्धिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उत्साहित देखिएका थिए।

जीतपुरसिमरा उपमहानगरपालिकाले यसअघि पनि दुई पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितिसकेको छ। लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको उपमहानगरपालिकाले जिल्लामा खेलकुद विकास तथा प्रतिभाशाली विद्यार्थी खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.