Type Here to Get Search Results !

डिभिजन वन कार्यालय बाराको पहल: वन्यजन्तु अपराध नियन्त्रण र संरक्षणबारे सिमरामा गोष्ठी सम्पन्न

सिमरा । डिभिजन वन कार्यालय, बाराले वन्यजन्तु अपराध नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा अभिमुखीकरण गोष्ठी आयोजना गरेको छ। तराई भू–परिधि तथा संरक्षण कार्यक्रम (TALCP) को सहयोगमा सिमरामा सम्पन्न कार्यक्रममा वन्यजन्तु संरक्षणमा समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याइएको हो।
डिभिजन वन कार्यालय बाराको पहल


गोष्ठीमा वन उपभोक्ता समूहका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, सामुदायिक चोरी–सिकारी नियन्त्रण इकाईका संयोजक, सुरक्षाकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वन्यजन्तुको अवैध सिकार, चोरी–निकासी तथा वन्यजन्तुजन्य वस्तुको अवैध कारोबार नियन्त्रणमा स्थानीय समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको विषयमा छलफल गरिएको थियो। साथै, मानव–वन्यजन्तु द्वन्द्वका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानी, वन्यजन्तु देखिएमा अपनाउनुपर्ने व्यवहार तथा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने प्रक्रियाबारे समेत जानकारी प्रदान गरिएको थियो।

प्रशिक्षकहरूले वन्यजन्तु संरक्षण सरकारको मात्र नभई समुदायको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय तह, वन उपभोक्ता समूह र नागरिकको सक्रिय सहभागिताले मात्र संरक्षण अभियान प्रभावकारी बन्ने बताएका थिए। पछिल्लो समय हात्ती, बाघ र चितुवासँगको मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएकाले यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा वन अधिकृत बादल लम्साल, वर्षा लामा, संजय चौधरी तथा रेन्जर निरज पोखरेलले वन तथा वन्यजन्तु संरक्षण, वनसम्बन्धी कानुनी व्यवस्था र अपराध नियन्त्रणका विषयमा प्रस्तुति दिएका थिए। कार्यक्रममा डिभिजन वन कार्यालय, बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झा प्रमुख सहभागीका रूपमा उपस्थित थिए।

डिभिजन वन कार्यालय, बाराले यस्ता कार्यक्रमले वन्यजन्तु संरक्षणप्रति जनचेतना अभिवृद्धि हुनुका साथै वन्यजन्तु अपराध नियन्त्रणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.