Type Here to Get Search Results !

३० वर्षपछि पूरा हुँदै जीतपुर–बकुलियावासीको सपना : बकुलिया खानेपानी ट्याङ्कीबाट अब घरघरमा शुद्ध पानी

बारा, असार : करिब तीन दशकदेखि प्रतीक्षामा रहेको जीतपुर–बकुलिया क्षेत्रको सुरक्षित खानेपानीको सपना अब साकार हुने भएको छ। निर्माण सम्पन्न भएर पनि वर्षौंदेखि सञ्चालनमा आउन नसकेको बकुलिया खानेपानी आयोजना अन्ततः वितरणको चरणमा पुगेपछि स्थानीयवासीमा नयाँ आशा र उत्साह जागेको छ।
३० वर्षपछि पूरा हुँदै जीतपुर–बकुलियावासीको सपना : बकुलिया खानेपानी ट्याङ्कीबाट अब घरघरमा शुद्ध पानी

भवानीपुर–जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अब घरधारामा खानेपानी जडानका लागि आवेदन प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। संस्थाका अध्यक्ष हरेराम कामीले जारी गरेको सूचनामा खानेपानी सेवा लिन इच्छुक उपभोक्तालाई आवश्यक कागजातसहित संस्थाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
तीन दशकको प्रतीक्षा अब अन्त्यतिर

बकुलिया खानेपानी ट्याङ्की आवश्यक पूर्वाधारसहित करिब ३० वर्षअघि निर्माण गरिएको भए पनि प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय जटिलताका कारण पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। पटक–पटक योजना बने पनि कार्यान्वयन हुन नसक्दा जीतपुर र बकुलियाका बासिन्दाले वर्षौंदेखि सुरक्षित खानेपानीको सुविधा पाउनबाट वञ्चित हुनुपरेको थियो।

अब भने आयोजना अन्तिम चरणमा पुगेको र चाँडै नियमित रूपमा शुद्ध खानेपानी वितरण सुरु हुने तयारी गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ।
नगर प्रमुखको सक्रियताले बढ्यो कामको गति
३० वर्षपछि पूरा हुँदै जीतपुर–बकुलियावासीको सपना : बकुलिया खानेपानी ट्याङ्कीबाट अब घरघरमा शुद्ध पानी

उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले आयोजनाको नियमित अनुगमन गर्दै सम्बन्धित समिति र प्राविधिक टोलीलाई समयमै काम सम्पन्न गर्न निरन्तर निर्देशन तथा समन्वय गर्दै आएका कारण पछिल्लो समय कामले तीव्र गति लिएको बताइएको छ।

यसअघि पाइपलाइन विस्तारका क्रममा सडक, पुल तथा राजमार्ग क्षेत्रमा विभिन्न प्राविधिक समस्या, सडक कटान अनुमति र संरचना व्यवस्थापनका कारण काम पटक–पटक प्रभावित भएको थियो। तर हाल मुख्य राजमार्गको पूर्वी क्षेत्रका बासिन्दालाई शीघ्र खानेपानी सेवा उपलब्ध गराउने लक्ष्यसहित वितरण सञ्जाल विस्तारको काम तीव्र रूपमा अघि बढाइएको छ।
अब घरघरमा धारा जडान

खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीका अनुसार अधिकांश मुख्य पाइपलाइन जडानको काम सम्पन्न भइसकेको छ। अब घरधुरीसम्म धारा जडान गर्ने प्रक्रिया सुरु हुन लागेको छ। पहिलो चरणमा जीतपुर र बकुलिया क्षेत्रका सयौं घरपरिवारलाई खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
स्थानीयमा खुसी, स्वास्थ्यमा पनि सकारात्मक प्रभाव

लामो समयदेखि स्वच्छ खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासी आयोजनाको सञ्चालन हुन लागेकामा खुसी छन्। नियमित र शुद्ध खानेपानी उपलब्ध भएपछि दैनिक जीवन सहज हुने मात्र होइन, दूषित पानीका कारण हुने विभिन्न स्वास्थ्य समस्यामा समेत कमी आउने अपेक्षा गरिएको छ।
कार्यालय व्यवस्थापनमा पनि सुधार

जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर अभयकान्त झाका अनुसार हाल खानेपानी कार्यालयलाई व्यवस्थित बनाउने काम भइरहेको छ। कार्यालयको उचित व्यवस्थापन नहुँदा धारा जडानका लागि आउने सेवाग्राही कार्यालय बन्द भएको देखेर फर्किनुपर्ने गुनासो आएपछि सेवा प्रवाहलाई सहज बनाउन आवश्यक व्यवस्थापन गरिएको उनले बताए।

खानेपानी वितरण औपचारिक रूपमा सुरु भएपछि वर्षौंदेखि अधुरो रहेको जीतपुर–बकुलियावासीको सुरक्षित खानेपानीको सपना अन्ततः वास्तविकतामा परिणत हुने विश्वास गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.