बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रामा जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मानस्वरूप झुल र छाता वितरण गरिएको छ। चालु आर्थिक वर्षको वडास्तरीय बजेट अन्तर्गत वडा कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा वडाभित्रका जेष्ठ नागरिक तथा एकल महिलालाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मोतिलाल राउतले जेष्ठ नागरिक र एकल महिलाको सम्मान गर्दै झुल तथा छाता वितरण गर्नुभयो। उहाँका अनुसार बढ्दो गर्मी, वर्षायामको सुरुवात तथा लामखुट्टेको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो।
वडा अध्यक्ष राउतले समाजका जेष्ठ नागरिक र एकल महिलाको योगदानको कदर गर्नु स्थानीय सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि उनीहरूको हितमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। सामाजिक सुरक्षा, स्वास्थ्य संरक्षण तथा जीवनयापन सहज बनाउने योजनालाई प्राथमिकताका साथ अघि बढाइने उहाँको भनाइ थियो।
कार्यक्रममा वडा सचिव सिद्धार्थ चौधरीले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले जेष्ठ नागरिक, एकल महिला तथा अन्य लक्षित वर्गका आवश्यकता र समस्याप्रति संवेदनशील भएर काम गरिरहेको बताउनुभयो। यस्ता सम्मान तथा सहयोगमूलक कार्यक्रमले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ मजबुत बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।
सामग्री प्राप्त गरेका जेष्ठ नागरिक तथा एकल महिलाले वडा कार्यालयले आफ्ना आवश्यकता बुझेर सहयोग गरेको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले झुल र छाता दैनिक जीवनमा उपयोगी हुने बताउँदै यस्ता जनहितमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।
कार्यक्रममा वडा जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा तथा लाभग्राहीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वडा कार्यालयले आगामी वर्षहरूमा पनि लक्षित वर्गको जीवनस्तर उकास्ने तथा सामाजिक सम्मान अभिवृद्धि गर्ने उद्देश्यका विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
