Type Here to Get Search Results !

डिभिजन वन कार्यालय बाराको कडा कदम: दुई दशकदेखि अतिक्रमित १५ बिघा वन क्षेत्र फिर्ता

बारा । बाराको कोल्हबी नगरपालिका–५ सखुवाहास्थित करिब १५ बिघा राष्ट्रिय वन क्षेत्र करिब दुई दशकपछि अतिक्रमणमुक्त गरिएको छ। डिभिजन वन कार्यालय बाराले विशेष अभियान सञ्चालन गर्दै सुरक्षा निकायको समन्वयमा अतिक्रमित वन क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याएको हो।
डिभिजन वन कार्यालय बाराको कडा कदम: दुई दशकदेखि अतिक्रमित १५ बिघा वन क्षेत्र फिर्ता

वन कार्यालयका अनुसार स्थानीय केही व्यक्तिले वर्षौंदेखि राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी खेतीपाती गर्दै आएका थिए भने केही भाग श्मशानका रूपमा समेत प्रयोग भइरहेको थियो। लामो समयदेखि अतिक्रमणमा परेको वन क्षेत्र संरक्षण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।

सब–डिभिजन वन कार्यालयको नेतृत्वमा वन अधिकृत कृष्णकुमार पटेल, वन कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा व्यवस्थाका बीच अतिक्रमित क्षेत्र खाली गराएको हो। अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको थियो।

डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजित कुमार झाको निर्देशनमा सञ्चालन गरिएको अभियानअन्तर्गत वन क्षेत्रको सीमा निर्धारण गरी तत्काल तारबारको काम सुरु गरिएको छ। साथै भविष्यमा पुनः अतिक्रमण हुन नदिन नियमित अनुगमन र निगरानीसमेत कडा बनाइने कार्यालयले जनाएको छ।

वन अधिकृत कृष्णकुमार पटेलका अनुसार खाली गराइएको क्षेत्रमा तारबारसँगै वृक्षारोपण कार्यक्रम अघि बढाइएको छ। वर्षायामलाई लक्षित गर्दै स्थानीय वातावरणअनुकूल विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी भइरहेको उनले जानकारी दिए।

वन कार्यालयले यस अभियानबाट वन संरक्षण, जैविक विविधताको संवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

डिभिजन वन कार्यालय बाराले राष्ट्रिय वन क्षेत्रमा हुने अतिक्रमण, अवैध बसोबास तथा अनधिकृत उपयोगविरुद्ध आगामी दिनमा पनि कानुनी प्रक्रिया अनुरूप कडाइका साथ अभियान सञ्चालन गरिने स्पष्ट गरेको छ। साथै वन संरक्षणमा स्थानीय समुदाय, जनप्रतिनिधि तथा सरोकारवाला निकायको सक्रिय सहयोग अपरिहार्य रहेको पनि कार्यालयले उल्लेख गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.