Type Here to Get Search Results !

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आइपुग्यो कार्गो रेल, पूर्वका उद्योगलाई ठूलो राहत

विराटनगर । नेपालको पूर्वी औद्योगिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा कोलकाताबाट पहिलोपटक सिधै विराटनगरसम्म नियमित कार्गो रेल सेवा सुरु भएको छ। अब तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चापदार्थ भारतीय बन्दरगाह कोलकाताबाट सीधै विराटनगर भन्सार यार्डसम्म रेलमार्फत आइपुग्ने भएपछि ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरिएको छ।
कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आइपुग्यो कार्गो रेल, पूर्वका उद्योगलाई ठूलो राहत


गत शुक्रबार कोलकाता बन्दरगाहबाट छुटेको पहिलो कार्गो रेल सोमबार विराटनगर भन्सार यार्डमा आइपुगेको हो। पहिलो खेपमा मोरङ–सुनसरी औद्योगिक करिडोरस्थित स्वस्तिक आयल इन्डस्ट्रिज का लागि तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चापदार्थ ल्याइएको छ।

यसअघि यस्ता सामान भारतीय रेलमार्फत बथनाहासम्म मात्र ल्याइन्थ्यो। त्यसपछि सडकमार्फत नेपाल भित्र्याउनुपर्ने भएकाले समय, खर्च र झन्झट बढ्ने गरेको थियो। अब रेल नै सिधै विराटनगर भन्सार यार्डसम्म पुग्न थालेपछि आयात प्रक्रिया अझ सहज र प्रभावकारी हुने विश्वास गरिएको छ।

कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातामा आयोजित विशेष समारोहमा गरिएको थियो। नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम (कोनकोर) का प्रतिनिधिहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विराटनगरका लागि विदाइ गरेका थिए।

सोमबार रेल विराटनगर आइपुग्दा भन्सार अधिकारी, उद्योगी तथा व्यवसायीले स्वागत गरेका थिए। उद्योगीहरूले नियमित रेल सेवा सञ्चालन भएपछि आयात लागत घट्ने, कच्चापदार्थ छिटो उपलब्ध हुने र उद्योग सञ्चालन थप सहज बन्ने विश्वास व्यक्त गरेका छन्।

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आइपुग्यो कार्गो रेल, पूर्वका उद्योगलाई ठूलो राहत


विराटनगरको एकीकृत जाँच चौकीसम्म कार्गो रेल ल्याउने उद्देश्यले २०८० साल जेठमै परीक्षण सेवा सञ्चालन गरिएको भए पनि नीतिगत जटिलता र समन्वय अभावका कारण नियमित हुन सकेको थिएन। पछिल्लो समय नेपाल–भारतबीच आवश्यक सहमति जुटेपछि अब कोलकाता–विराटनगर कार्गो रेल सेवा नियमित सञ्चालन हुने बाटो खुलेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.