जनकपुरधाम - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ जनकपुरधाम आउने कार्यक्रमसँगै जानकी मन्दिर परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। साम्पाङको जानकी मन्दिर प्रवेशको विषयलाई लिएर हिन्दुवादी संघ–संस्थाले मन्दिर अगाडि विरोध प्रदर्शन गरेका छन्।
मंगलबार बिहानदेखि नै जानकी मन्दिर परिसर बाहिर हिन्दुवादी संगठनका कार्यकर्ता भेला भएर नाराबाजी गर्दै साम्पाङको विरोध गरेका हुन्। उनीहरूले क्रिश्चियन धर्म मान्ने व्यक्तिलाई हिन्दूहरूको प्रमुख आस्थाको केन्द्र जानकी मन्दिरभित्र प्रवेश गर्न नदिनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले धार्मिक आस्थाको सम्मान गर्नुपर्ने भन्दै विभिन्न नारासमेत लगाएका थिए।
विरोध प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन र नेपाल प्रहरीले जानकी मन्दिर परिसर तथा वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। मन्दिरको मुख्य प्रवेशद्वार, आसपासका सडक र परिसरभित्र ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। सम्भावित झडप वा अप्रिय घटना हुन नदिन सुरक्षा निकाय उच्च सतर्क अवस्थामा रहेको जनाएको छ।
यसबीच श्रम संस्कृति पार्टीका केही कार्यकर्ताले जानकी मन्दिर परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए। त्यसक्रममा प्रदर्शनकारी र पार्टी समर्थकबीच केहीबेर तनावको अवस्था सिर्जना भए पनि प्रहरीको हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको बताइएको छ। हालसम्म कुनै अप्रिय घटना वा ठूलो क्षतिको जानकारी सार्वजनिक भएको छैन।
हर्क साम्पाङको आज जनकपुरधाममा विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ। सोही कार्यक्रमअन्तर्गत उनी जानकी मन्दिर पुग्ने सम्भावना रहेकाले विरोध प्रदर्शन भएको जनाइएको छ।
जानकी मन्दिर हिन्दू धर्मावलम्बीहरूको प्रमुख धार्मिक तीर्थस्थलका रूपमा परिचित छ। त्यसैले साम्पाङको धार्मिक आस्था र मन्दिर प्रवेशको विषयलाई लिएर सामाजिक सञ्जालदेखि स्थानीय स्तरसम्म बहस चर्किएको छ।
प्रशासनले सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ। साथै, कुनै पनि प्रकारको कानुनविपरीत गतिविधि वा सार्वजनिक शान्ति भंग गर्ने कार्य सह्य नहुने चेतावनी पनि दिएको छ।
हाल जानकी मन्दिर परिसरमा सुरक्षा निगरानी बढाइएको छ भने हर्क साम्पाङको जनकपुर भ्रमणलाई लक्षित गर्दै सुरक्षा निकायले अवस्था निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
.jpg)
.jpg)
.jpg)