बारा । बाराका ६ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई अन्य निकायमा सरुवा गर्दै नयाँ अधिकृतहरूलाई जिम्मेवारी दिएको हो।
मन्त्रालयको सरुवासम्बन्धी निर्णयअनुसार विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीलाई पर्साको जगरनाथपुर गाउँपालिकामा सरुवा गरिएको छ। उनको स्थानमा जगरनाथपुर गाउँपालिकामा कार्यरत सन्देशकुमार यादवलाई विश्रामपुर ल्याइएको छ।
यसैगरी, करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग, काठमाडौंमा सरुवा गरिएको छ। उनको स्थानमा महोत्तरीको भँगाहा नगरपालिकाका रमेश अधिकारीलाई जिम्मेवारी दिइएको छ।
प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने उनको स्थानमा रौतहटको देवाही गोनाही नगरपालिकाका पवनकुमार केशरीलाई खटाइएको छ।
त्यस्तै, देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायलाई परवानीपुर गाउँपालिकामा सरुवा गरिएको छ। बौद्धिमाई नगरपालिकाका उदयशंकर चौधरीलाई देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
परवानीपुर गाउँपालिकामा कार्यरत मुन्ना साह रौनियारलाई फेटा गाउँपालिकामा सरुवा गरिएको छ भने फेटाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझालाई सिराहाको नवराजपुर गाउँपालिकामा खटाइएको छ।
मन्त्रालयको उक्त निर्णयसँगै बाराका स्थानीय तहहरूको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ। नयाँ जिम्मेवारी पाएका अधिकृतहरूले स्थानीय तहको प्रशासनिक सेवा प्रवाह तथा विकास निर्माणका कामलाई अघि बढाउने अपेक्षा गरिएको छ।
.png)