वीरगञ्ज । वीरगञ्जमा सञ्चालित दशैँ मेलामा सहभागी युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाराका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–४, बलिरामपुर निवासी ज्योतीलाल कलवारका करिब ४५ वर्षीय छोरा अखिलेश कुमार साह रहेका छन्।
प्राप्त विवरणअनुसार आइतबार राति दशैँ मेला हेर्न पुगेका साहले मादक पदार्थ सेवन गरेको अवस्थामा मेलामा सहभागी युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ। घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले नियन्त्रणमा लिएका साहलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाएको जनाएको छ। घटनापछि पीडित पक्षसँग समन्वय गरी सम्बन्धित मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको बताइएको छ।
साह वीरगञ्ज भन्सार कार्यालयमा माछा तथा तरकारीको भन्सार पास गराउने एजेन्टका रूपमा काम गर्दै आएको बताइएको छ। उनीमाथि प्रहरीसमक्ष पत्रकारको परिचयपत्र देखाएर धाकधम्की दिने गरेको आरोपसमेत लागेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। साहमाथि लागेका आरोपहरू अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेकाले कानुनी प्रक्रियाबाटै घटनाको वास्तविकता र जिम्मेवारी टुङ्गो लाग्नेछ।
